
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसकारण अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।
कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो भने कोशीमा सामान्य बदली रहने सम्भावना रहेको छ ।
वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।