
नेपाललाई माया गर्छु भन्ने सबैको मर्मलाई गोपालले छामेको थियो र नेपाली युवाहरूलाई सदैव उत्प्रेरित गर्ने र सही दिशाबोध गर्ने प्रयास नै गोपालको विशेषता थियो । देशका भावी कर्णधार बालबालिकाहरूका लागि पनि प्रशस्त रचनाहरू गरेको थियो गोपालले ।
गोपाल योञ्जन र म २९ वर्षदेखि परस्पर परिचित थियौं । विगत १९ वर्षदेखि त एकदमै निकट, यति निकट कि हामीले एक अर्काको आन्द्राभुँडी छामेका थियौं । २९ वर्षको समय ज्यादै लामो नभए तापनि कम चाहिँ होइन । यी वर्षहरूमा गोपालसित भएका तीतामीठा अनुभवहरूबारे कति लेख्नु ? गीतले जन्माएको आत्मीयताको अघि गोपाल योञ्जन उमेरले मभन्दा निक्कै सानो भएर के हुन्छ र ? ऊ एउटा सङ्गीत, कलासाधक र शिल्पीको रूपमा विराट भएर मेरो अघि उभिन आइपुगेको थियो । यसबारे मैले त के, गीतसङ्गीतका ज्ञाता र अनेकन प्रशंसक र आराधक बौद्धिकहरूलाई पनि उसको व्यक्तित्वका विविध पक्षहरूको बखान गर्न हम्मे पर्छ होला । गोपालसित चलचित्र क्षेत्रमा मैले धेरै नै काम गर्ने सौभाग्य पाए तापनि यतिका वर्षमा उसलाई चिनिसकेको थिएँ भन्नु मेरो धृष्टता शिवाय अरू केही हुने छैन । यसो भन्नु समुचित ठहर्ला कि गीत सङ्गीतको क्षेत्रमा ऊ महासागर थियो । हामी सतहमा डुबुल्की लगाउन तैरेका मात्र हौं ।
गोपालसित मेरो सानिध्यमा, उसको जीवनको अनेकौं पाटा मेरा सामु उजागर हुन पुगेका छन् । सबै पाटाहरू विस्तारमा वर्णन गर्न थाले महाभारत जतिक्कै ठूलो ग्रन्थ बन्न जाला । ऊ सभ्य, शिष्ट, शान्त थियो र बच्चादेखि वृद्धसम्म हार्दिकता, प्रेम र सद्भावनाले प्रस्तुत हुने व्यक्ति थियो । उसको निम्ति स्वरसम्राट नारायणगोपालदेखि लिएर पहिलो दिन सिक्न आउने शिकारु विद्यार्थी सब समान थिए । सबैलाई पर्याप्त समय दिएर निखारिदिन पछि नहट्ने सङगीतकार थियो ऊ ।
नेपाल पसिसकेपछिका उसका गीत र सङ्गीतले ल्याएको क्रान्ति नेपाली श्रोता र सङ्गीत विश्लेषकहरूसामु छर्लङ्ग छ । दार्जीलिङमा छँदा कलामन्दिरमा दिलमायालाई स्थापित गर्ने गोपाल थियो । उता संगममा रहेकी अरुणा लामा प्रतिस्पर्धी थिइन् । तर, अरुणाले पनि गोपालका लोकप्रिय र स्पर्शी गीतहरू गाउने सौभाग्य पाइन् । उसले अरुणालाई चलचित्रमा नारायणगोपाल, आफू र भिन्न श्रेष्ठ गायकहरूसँग उत्तिकै उम्दा गीतहरू गाउने अवसर दियो । नेपाल पसेपछि त्यसबेलाका स्थापित गायक गायिकाहरूलाई मात्र आफ्नो रचना दिएन उसले । त्यसबेलाका नवोदितले पनि उसँग काम गर्न पाए । उसमा भएको उच्चतम सङ्गीत र काव्यचेतका कारण उसको अन्ततः कदर भयो र नेपाली सङ्गीतको शीर्ष लहरमा ऊ पनि रहन पुग्यो । उसले नेपाली आधुनिक सङ्गीतको क्षेत्रमा अग्रज नातिकाजी, शिवशंकर, पुष्प नेपाली, बच्चुकैलाश अनि दार्जीलिङकै अर्का सङ्गीतकार अम्बर गुरुङले विस्तार गरेको पिरामिडलाई मौलिक, विशिष्ट र अर्थपूर्ण उचाइ दिएको छ । उसका कृतिहरू र उसले काम गरेको कालखण्डलाई अध्ययन गरेको खण्डमा त्यसले यसै कुरालाई पुष्टि गर्नेछ ।
गोपाल योञ्जन एक अत्यन्त प्रतिभाशाली सङ्गीतकार हुनुको अतिरिक्त, उनमा सबैप्रति रहेको हार्दिक प्रेमका कारण बनेको उसको चौथो आयामी व्यक्तित्वले गर्दा उसँग संगतमा रहने र परिचित दुवैका लागि ऊ प्रिय थियो । जहाँसम्म सङ्गीत र गीतको कुरा गरिन्छ नेपाली आधुनिक सङ्गीतको स्वर्ण युग भनेर जुन कालखण्डलाई मानिन्छ, त्यसो हुनुमा गोपालको कृतिको पनि महत्त्वपूर्ण भूमिका र स्थान छ । उसले जति गीत लेख्यो जीवनको यथार्थमा आधारित गीत लेख्यो, देवस्तुतिभन्दा पनि आध्यात्मदर्शनको कोणबाट लेख्यो, राष्ट्रिय भावनाका गीतहरू लेख्दा रटिरटाउ चलिआएका अभिव्यक्ति भएनन् उसका गीतमा । बालबालिकाले बुझ्ने बालगीत लेख्नु चुनौती हो । तर, उसका बालगीतहरू सुन्दा त्यस चुनौतीलाई उसले पराजित गरेको छ । उसका प्रीतिका गीतहरू पनि उत्तिकै अर्थपूर्ण, भावपूर्ण र नारीप्रति मर्यादित छन् ।