प्रहरीका गुमनाम स्पाई मास्टर : दोस्रो वरीयतामा थिए, तर आईजीपीका प्रतिस्पर्धी नै ठानिएनन्

नेपाल प्रहरीका एआईजी टेकप्रसाद राई यस्ता अफिसर हुन्, जो सेवा अवधिभर जम्मा दुई पटक मात्र सर्वसाधारणले थाहा पाउने युनिटमा बसेका छन् । त्यसबाहेक उनी सधैं आतंकवाद र अन्तरदेशीय अपराधको जालो तोड्न खटिने प्रहरीको गुप्तचरी निकाय विशेष ब्यूरोमा सक्रिय रहे ।

३ वैशाख, काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाल प्रहरीमा महानिरीक्षक बन्ने चर्कै रस्साकस्सी हुन्छ । आकांक्षीहरु एकअर्काबीच पानी बाराबारको व्यवहार गर्छन्, नेताहरुको घरदैलोमा धाउँछन् ।

१० चैतमा मन्त्रिपरिषद्ले वसन्तबहादुर कुँवरलाई ३०औं प्रहरी महानिरीक्षक नियुक्त गर्नुअघि आकांक्षीहरुको दौडधुप थियो । आईजीपीको होडमा रहेकाहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई भने लुम्बिनी प्रदेशको राजधानी दाङमा आफ्नै काममा रमाइरहे । ‘सबै आईजीपी बन्ने भन्ने हुँदैन, म प्रहरी बन्न संगठनमा आएको थिएँ, प्रहरी नै बनेर कर्म गरिरहेको थिएँ’, राई भन्छन्, ‘मलाई डर्टी गेमहरुमा विश्वास लाग्दैन, त्यसैले काममै व्यस्त थिएँ ।’ त्यसैले अधिकृतहरु भन्थे, ‘यसपालि आईजीपी बन्ने प्रतिस्पर्धा पहिलो र दोस्रो होइन, पहिलो र चौथो हो ।’

कुँवर पहिलो वरीयतामा थिए भने राई दोस्रो, दीपक थापा तेस्रो र श्याम ज्ञवाली चौथो वरीयतामा थिए । आईजीपी हुने दौडमा कुँवरका साथै तेस्रो वरीयताका थापा र चौथो वरीयताका ज्ञवालीले दौडधुप गरेका थिए ।

सरकारले वरीयताक्रम अनुसार अगाडि रहेका कुँवरलाई नै महानिरीक्षक बनायो । यसप्रति राईको कुनै गुनासो छैन । ‘प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेको थिएँ, एआईजी विशिष्ट श्रेणीको पद पाइसकें, नीतिगत तहमा पुगिसकेँ’, राई सन्तुष्ट सुनिन्छिन्, ‘यो नै सरकारले मेरोलागि दिएको ठूलो कुरा हो ।’

उनले आफ्नो अध्यक्षतामा संगठनको दुई वर्षे कार्ययोजना बनाउने जिम्मेवारी पाएका छन् । ‘संगठन प्रमुखज्यूसँग प्रहरीलाई यो अवधिमा कसरी अगाडि लैजाने भन्नेमा सल्लाह भइरहेको छ, त्यसक्रममा दुई वर्षे कार्ययोजना बनाउन मेरै अध्यक्षतामा टिम बनेको छ’, राई भन्छन्, ‘हाम्रो नीतिगत नेतृत्वमा प्रहरीलाई गौरव गर्न लायक संगठन बनाउने प्रयास हुनेछ ।’

१९ वर्ष वितेको पत्तै भएन

२०४४ सालमा अध्ययनको सिलसिलामा उदयपुरबाट काठमाडौं आएका राई शंकरदेव क्याम्पसबाट स्नातक उत्तीर्ण गरेपछि शिक्षण पेशा रोज्न चाहन्थे । किनकी त्यसबेला शिक्षण सम्मानित पेशा मानिन्थ्यो । तर उनी बने प्रहरी ।

‘कताकता शिक्षण पेशा सबैसँग जोडिँदैन भन्ने लाग्यो’, राई भन्छन्, ‘बरु प्रहरीबाट पो सबै क्षेत्रसँग जोडिनसक्ने रहेछु भन्ने लाग्यो । त्यही बेला बर्दीको चार्म पनि थियो ।’

२०४९ सालमा प्रहरी निरीक्षकका लागि दरखास्त दिए । २०५३ साल भदौमा पासआउट भएर अञ्चल प्रहरी इकाइ कार्यालय, दाङमा काम गर्न थाले । १० महिनापछि उनी रोल्पा सरुवा भए । झण्डै १७ महिना रोल्पामा काम गरेपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भयो ।

‘त्यसबेला स्पेशल ब्रान्च भनिन्थ्यो, भर्खर स्थापना भएको कार्यालयमा सबैलाई काजमा राखिएको थियो’, राई सम्झन्छन्, ‘त्यसबेला सीआईबी पनि स्थापना भएको थिएन । पूर्णतः अण्डरकभर काम गर्ने प्रहरीमा त्यही एउटा शाखा मात्र थियो ।’

बर्दीको चार्म देखेर कमाण्ड गर्न तम्सिएका राईले त्यसपछि ‘प्रहरी हुँ’ भनेर खुला रुपमा बताउन नसक्ने जिम्मेवारी पाए । ‘त्यसबेला कस्तो कस्तो नलागेको होइन’, राई भन्छन्, ‘जब इन्टलिजेन्स बुझ्दै गएँ, १९ वर्ष त्यहीँ वितेको पत्तै भएन ।’

नेपालमा भएको अपरेशन, जसमाथि फिल्म बन्यो

विशेष ब्यूरोमा छँदा गरेका अपरेशनहरुबारे राई धेरै खुल्दैनन् । तर कतिपय कुराहरु लुकेका छैनन् ।

२४ मे २०१९ मा एउटा भारतीय चलचित्र रिलिज भयो, ‘इण्डियाज् मस्ट वान्टेड ।’ इण्डियन मुजाहिद्दिनका सह-संस्थापक यासिन भट्खालको गिरफ्तारीमाथि फिल्म केन्दि्रत छ । भारतका ओसामा विन लादेन समेत भनिने भट्खाललाई पोखराबाट समातेर लगिएको कथा फिल्ममा छ ।

नेपाली सुरक्षा अधिकारीहरुमध्ये कमैलाई थाहा छ, भट्खाल विशेष ब्यूरोले लामो समयदेखि निगरानी गरेका व्यक्ति हुन् । नेपाल प्रहरीले यो अपरेशनमा सहयोग गरेको विषय फिल्ममा देखाइएको छ ।

राई यसबारे बताउन चाहँदैनन् । यस्ता थुप्रै व्यक्तिमाथि ब्यूरोले नियमित निगरानी राखेको उनी सुनाउँछन् । २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोक कारागारबाट इरफान अहमद नामक व्यक्ति भागेका थिए । उनीमाथि भारत सरकारले ५० हजार भारुको इनाम घोषणा गरेको थियो ।

सन् १९९३ मा बाबरी मस्जिद भत्किएपछि भएको आतंकवादी गतिविधिमा संलग्न इरफान सन् २००० मा भागेर नेपाल प्रवेश गरेको सुरक्षा निकायको रिपोर्ट छ । उनलाई इण्डियन मुजाहिद्दिनको नेपाल प्रमुखका रुपमा भारतीय सञ्चारमाध्यमहरुले प्रस्तुत गर्दै आएका थिए ।

‘सन् २००१ देखि उनी ब्यूरोको निगरानीमा थिए, लामो सर्भिलेन्सपछि पक्राउ परेका हुन्’, सात वर्षपछि एआईजी राई स्वीकार्छन्, ‘पहिले बागबजारमा विजनेस कभरमा बसेका थिए, त्यसपछि कहिले नेपालगञ्ज त कहिले कपिलवस्तुमा बसेको पाइएको थियो ।’

नेपाली नागरिकता लिएको भेटिएपछि पक्राउ गरेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार