उपाधि जित्नेमा घरेलु टोली विराटनगर र लुका सकर आत्मविश्वासी

१५ चैत, विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।

शहीद रंगशालामा भोलि बिहीबार बेलुकी पौने ७ बजे सुरु हुने फाइनल खेल्न लागेको घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रो उपाधि उचाल्ने योजनामा छ ।

विराटनगरले पूर्व बिजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराएको थियो ।

२०१९ सालमा घरेलु टोली मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ– ११ फाइनलमा पुगेर उपविजेता भएको थियो ।
त्यसपछि सातौं संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो ।

गत वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइलनमा बिमल घर्तीमगरलाई पनि मैदानमा ओरालेको थियो । घरेलु टिमलाई फाइनलमा पुर्‍याउन विमलले महत्वपूर्ण भूमिका खेलका थिए । उनले निकालेको दुवै क्रस पासमा विराटनगरले संकटलाई २–१ गोेलले पराजित गरेको थियो ।

विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले घरेलु मैदानमा विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने, ‘दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।’

विराटनगर सिटीका कप्तान बिसाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘लुका सकर राम्रो टिम हो । अग्ला कद भएका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौँ,’ उनले भने, ‘केरलाका अग्गा कद भएका खेलाडी भएकोले हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’

केरलाको लुका सकर पनि विराट गोल्डकपको पहिलो सहभागितामै उपाधि जित्ने लक्ष्यमा छ ।

लुका सकरले क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा केरालाले साविक विजेता विभागीय टिम एपीएफलाई टाइब्रेकरमा ४–२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

केरलाको प्रिमियर लिगको पाँचौ स्थानमा रहेको टिम लुका सकरका प्रशिक्षक नभास नोकाले सेमिफाइनलमै खेले जसरी फाइनल खेलेर जित्ने दाबी गरे ।

नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने ।

साविक विजेता एपीएफ र लिग खेल्दै आएको ए डिभिजनको टिम संकटालाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क रहेको उनको भनाइ छ ।

केरलाका कप्तान अर्सादले उत्कृष्ट खेल प्रदर्शन गरेकोले नेपाली दर्शकको साथ पाएको दाबी गर्दै भने, ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशावादी छौं ।’

चैत ९ देखि सुरु भएको रात्रिकालीन गोल्डकपको बिजेताले २० लाख १५ हजार र उपविजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

२०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार