२०२४ को ब्रिक्स शिखर सम्मेलनका प्रमुख उद्देश्यहरू सदस्य राष्ट्रहरूबीच राजनीति, सुरक्षा, अर्थव्यवस्था, वित्त, र संस्कृतिमा सहकार्य र साझेदारी प्रवर्द्धन गर्नु हो।
ब्रिक्सको १६औं शिखर सम्मेलन २०२४ अक्टोबर २२ देखि २४ तारिखसम्म रूसको कजानमा आयोजना हुँदैछ। सम्मेलनको मुख्य विषयवस्तु “न्यायपूर्ण विश्व विकास र सुरक्षाका लागि बहुपक्षीयताको सुदृढीकरण” रहेको छ। ब्रिक्सको लक्ष्य शान्ति, सुरक्षा, विकास र सहकार्यलाई प्रवर्द्धन गर्नु हो, जहाँ सदस्य राष्ट्रहरूले वैकल्पिक विश्वव्यापी वित्तीय प्रणाली, बहुध्रुवीय विश्व, र विश्वव्यापी व्यापार प्रणालीको पुनर्संरचनाको समर्थन गरेका छन्।
यस वर्षको सम्मेलनमा जलवायु परिवर्तन, आतंकवादको विरुद्ध लडाइँ, र अन्य विश्वव्यापी चुनौतीहरूको सामना गर्ने विषयमा छलफल हुनेछ। साथै, ब्रिक्सको सदस्यता विस्तार गर्ने सम्भावनाबारे पनि विशेष चर्चा हुने अपेक्षा गरिएको छ।
ब्रिक्सको विकासक्रममा सन् २०२३ को जोहान्सबर्ग शिखर सम्मेलनमा संगठनले पाँच सदस्यबाट ११ सदस्य पुर्याएको थियो। सन् २०२४ को जनवरी १ मा यूएई, इजिप्ट, इथियोपिया, र इरान समूहमा सामेल भए। अर्जेन्टिनाले भने सरकार परिवर्तनपछि सदस्यता अस्वीकार गरेको छ, भने साउदी अरेबिया अझै अनिर्णित अवस्थामा छ।
हालसम्म नौ ब्रिक्स सदस्य राष्ट्रहरूले विश्वको २८.३% भू-भाग र ४४.६% जनसंख्या ओगटेका छन्। यी राष्ट्रहरूको २०२३ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २७.४% थियो, जुन विश्वको कुल जीडीपीको हिस्सा हो। जबकि खरिद शक्तिका आधारमा ब्रिक्सको जीडीपी ३५.४३% रहेको छ। तुलनामा, जि ७ राष्ट्रहरूको खरिद शक्तिमा आधारित जीडीपी २९.६३% छ।
ब्रिक्सको सदस्यता विस्तारसँगै संगठनको तेल उत्पादनमा पनि वृद्धि भएको छ। यूएई र इरानको समावेशपछि विश्वव्यापी तेल उत्पादनमा ब्रिक्सको हिस्सा ८.९% ले बढेर २६ मिलियन ब्यारल प्रतिदिन पुगेको छ।
ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरको विकल्पको रूपमा नयाँ व्यापार र वित्तीय प्रणाली स्थापना गर्ने प्रयासमा छन्। हाल, लगभग ३० राष्ट्रहरू ब्रिक्सको सदस्यता प्राप्त गर्न इच्छुक छन्, जसमध्ये टर्की, कजाकिस्तान, इन्डोनेसिया, थाइल्याण्ड, भेनेजुएला, क्युबा, नाइजेरिया र पाकिस्तानजस्ता राष्ट्रहरू समावेश छन्।
रूसले आगामी कजान शिखर सम्मेलनमा “साझेदार राष्ट्रहरू”को नयाँ श्रेणी प्रस्ताव गरेको छ, जहाँ १० देशहरूलाई विशेष परियोजनामा सहभागी गराउने तर निर्णय प्रक्रियामा मताधिकार नदिने भनिएको छ। यस शिखर सम्मेलनले ब्रिक्सको भविष्यको दिशा र विश्वव्यापी विकासमा महत्वपूर्ण योगदान पुर्याउने सम्भावना रहेको छ।