स्वर्णिमका लागि ‘स्वर्णिम’ रहेन कांग्रेस

काठमाडौँ — कांग्रेसभित्र भावी अर्थमन्त्रीका रूपमा हेरिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले ‘तीन पुस्ता’ को पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यका साथ वाग्लेले कांग्रेस छाडेका हुन् ।

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारीमा वाग्ले रहेको उनीनिकट नेताहरू बताउँछन् । यद्यपि रास्वपाले उम्मेदवारीको औपचारिक निर्णय गरिसकेको छैन । कांग्रेसले उक्त क्षेत्रबाट नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेलगत्तै वाग्लेले कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द पोखरेललाई सम्बोधन गर्दै पार्टी त्याग गरेको जानकारी गराएका थिए । कांग्रेस किन छाडेको भन्ने प्रश्नको उनले फेसबुकमार्फत सार्वजनिक जवाफ दिएका छन् । उनले नेतृत्वको व्यवहार र कार्यशैलीलाई मुख्य कारण मानेका छन् ।

‘पछिल्ला वर्ष कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको छ, जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजू–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले लेखेका छन् ।

कांग्रेसभित्र आफ्नो समूहका नेतालाई सम्बोधन गरेर पठाएको पत्रमा वाग्लेले ‘देउवा–आरजु गिरोह’ को निरन्तर हेपाइ र अपमानका कारण पार्टी त्याग गरेको उल्लेख गरेका छन् । ‘अब कुरेर बस्ने, कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान, ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ प्रयोजनमा जान चाहें’ वाग्लेले लेखेका छन् ।

अन्तर्राष्ट्रिय दातृ संघसंस्थाका आकर्षक सेवा–सुविधा र अवसर छाडेर कांग्रेस राजनीतिमा सक्रिय भएका वाग्लेले गत मंसिर ४ कै निर्वाचनमा उम्मेदवार बन्न चाहेका थिए । उनको नाम चितवन–१ बाट सिफारिस भएको पनि थियो । उनलाई टिकट दिलाउन कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लागिपरेका थिए । थापा काठमाडौं–४ वाग्लेका लागि छाडेर सर्लाही–४ मा जाने तयारीमा थिए । गोरखा र काठमाडौंबाट पनि उनको नाम चर्चामा थियो तर सभापति देउवा र आरजुले नै वाग्लेलाई नियतवश रोकेको चर्चा कांग्रेस वृत्तमा छ । कांग्रेसबाट टिकट नपाएपछि उनलाई एमालेले काठमाडौं–७ र राष्ट्रिय स्वतन्त्र पार्टीले देशको कुनै पनि क्षेत्रबाट उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । केही गरौं भन्ने हुटहुटीका साथ सक्रिय बनेका वाग्लेले ती दुवै प्रस्तावलाई अस्वीकार गर्दै पाँच वर्ष प्रतिक्षा गर्ने उद्घोष गरेका थिए ।

०७९ कात्तिक ५ मा एक सार्वजनिक कार्यक्रममा उनले भनेका थिए, ‘कांग्रेस पार्टी त्यागेर चुनाव लड्नु राजनीतिक रूपमा परिपक्वता हुँदैन । अब म पाँच वर्षसम्म युवामाझ सक्रिय हुन्छु ।’ तर उनी आफ्नै भनाइमा सात महिना पनि टिक्न सकेनन् । किन त ? कांग्रेसका एक नेताका अनुसार उनले कांग्रेसमा तत्काल परिवर्तनको कुनै संकेत नदेख्नु यसको मुख्य कारण हो । उनलाई पार्टीमा सक्रिय भइरहने ठाउँ चाहिएको थियो, जुन ठाउँ नेतृत्वले उनलाई दिन चाहेन । नेतृत्वमा परिवर्तन देखिने र नेतृत्व परिवर्तन हुने कुनै संकेत नपाएपछि नै उनले पार्टी त्याग गरेका हुन् ।

‘पार्टी सभापति र आरजु भाउजू शक्तिमा भइन्जेल स्वर्णिमजीले आफूले कुनै ठाउँ नपाउने बुझ्नुभयो, त्यसपछि नै उहाँ यो निर्णयमा पुग्नुभएको हो भन्ने लाग्छ,’ कांग्रेसका ती नेताले भने । कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले वाग्लेको इमेल पाउनासाथ उनलाई रोक्ने प्रयत्न गरेका थिए तर सम्पर्कमै आउन चाहेनन् । आफूलाई रोक्ने स्थितिको पूर्वआकलन गरेरै वाग्लेले चिठीमै सम्पर्कमा आउन नचाहेको बताएका छन् । ‘यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकाले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौं,’ कोइराला, थापा, शर्मा र पोखरेललाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’

वाग्ले तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारका पालामा राष्ट्रिय योजना आयोगका सदस्य थिए । त्यतिबेला उपाध्यक्ष गोविन्द पोखरेल थिए । सदस्यका रूपमा उनले दुई कार्यकाल र शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री भएका बेला उपाध्यक्ष बनेका थिए । बूढानीलकण्ठबाट हाईस्कुलसम्मको अध्ययन गरेका वाग्लेले त्यसपछि लन्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा अध्ययन गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष पोखरेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा सहभागी भएर देशकै नाम राख्न सफल बौद्धिक नेतालाई कांग्रेसजस्तो पार्टीमा अटाउन नसक्नु दुःखद् भएको बताए । आर्थिक क्षेत्रका विभिन्न आयामका विषयमा अन्तर्राष्ट्रिय फोरम र मञ्चमा मन्तव्य राखेर चर्चा कमाएका वाग्लेलाई कांग्रेसले चिन्न नसकेको बताए । ‘कांग्रेसका लागि यो ठूलो क्षति हो । संगठनको दिशामा भन्दा पनि देशको आर्थिक विकास र समृद्धिका नीतिमा आमयुवालाई आकर्षित गर्ने अनुहार हो स्वर्णिमजी, त्यो अनुहार कांग्रेसले गुमाउनु भनेको पार्टीकै लागि क्षति हो,’ पोखरेल भन्छन्, ‘उनले राष्ट्रिय स्वतन्त्र पार्टी किन रोजे भन्ने कुरा व्यक्तिगत स्वतन्त्रताको कुरा हो तर कांग्रेसभित्र उनले रूपान्तरण खोजेका थिए ।’

उनका बुबा जीवन राजनीतिज्ञ मात्रै थिएनन्, बूढानीलकण्ठ स्कुलको शिक्षकसमेत थिए । ७/८ कक्षा पढ्दादेखि नै वाग्ले कांग्रेस राजनीतिमा सुषुप्त रूपमा सक्रिय भइसकेको पोखरेल सम्झन्छन् । उनी त्यतिबेला बूढानीलकण्ठ स्कुलबाट महाराजगन्ज आएर देशान्तर किनेर लैजाने गरेको सम्झन्छन् । उनी भन्छन्, ‘त्यतिबेलादेखि नै राजनीति लेख र समाचार पढ्न छुटाउँदैनथे । पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रले समेत पत्याएका व्यक्ति थिए । अर्थ राजनीति क्षेत्रमा यत्तिको क्षमतावान् र दूरदृष्टि राख्ने नेता मैले कमै देखेको छु । यस्तो व्यक्तिलाई कांग्रेसले किन रोक्न चाहेन, म अचम्ममा छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले कांग्रेस परित्याग गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले घन्टी चुनाव चिह्न लिएर उपनिर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् ।

यस्तो छ तनहुँको स्थिति

कांग्रेस छोड्ने वाग्लेको घोषणासँगै तनहुँ–१ मा हुने उम्मेदवारी चर्चाले राष्ट्रिय राजनीतिलाई तरंगित बनाएको छ । ०४८ सालमा हालका राष्ट्रपति रामचन्द्र पौडेल क्षेत्र १ बाट चुनाव लडेका थिए । त्यसपछि उनी क्षेत्र २ मा पुगे भने १ बाट पूर्वमन्त्री गोविन्दराज जोशी चुनाव लड्दै आएका थिए । नयाँ संविधान जारी भएसँगै तनहुँमा दुईवटा मात्रै क्षेत्र कायम भए । त्यसपछि ०७४ मा क्षेत्र १ बाट पौडेलले प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी एमालेका किसान श्रेष्ठ (हाल एकीकृत समाजवादी) बाट पराजित भएका थिए । ०७९ मा भने पौडेलले एमाले उम्मेदवार एकबहादुर रानालाई ५ हजार ३ सय ८० मतान्तरले हराएका थिए ।

पौडेलले २५ हजार ३ सय ६१ मत ल्याउँदा रानाले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीले ६ हजार ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । रास्वपा उम्मेदवारको नाम आममतदाताले सुनेकै थिएनन् । तैपनि उनले ल्याएको मत उल्लेख्य रहेको तनहुँका स्थानीय नेता बताउँछन् । यस क्षेत्रमा राप्रपाको २ हजार ४ सय ८४ मत छ ।

उपनिर्वाचन हुने तनहुँको उक्त क्षेत्र सुगम बजारी इलाका मात्रै छैन, धेरै मतदाता गाउँमा छन् । एमालेबाट यसअघि उम्मेदवार बनेका एकबहादुर रानाले उपनिर्वाचनमा नउठ्ने निर्णय गरेका छन् । एमालेले काठमाडौं–६ बाट पराजित सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने सम्भावना छ । सत्ता गठबन्धनमा रहेका सबै दलले कांग्रेसका उम्मेदवारलाई समर्थन गरिसकेका छैनन् । गठबन्धन र स्थानीय तहमा पूर्वमन्त्री जोशीको भूमिकाले पनि तनहुँको उपनिर्वाचनलाई प्रभावित पार्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार